काठमाडौँ, १४ भदौ । चिनियाँ राष्ट्रपति सि चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीनको तियान्जिन प्रस्थान गर्दैछन्। ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल बिहान ७ बजे हिमालयन एयरलाइन्समार्फत चीन जान लागेको हो।
प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू समावेश छन्।
तियान्जिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५औँ शिखर सम्मेलनमा १० सदस्य राष्ट्रका साथै २० देशका राष्ट्र वा सरकार प्रमुख र १० अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूको सहभागिता रहनेछ। सम्मेलनको उद्घाटन राष्ट्रपति सि चिनफिङले गर्नेछन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्को, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, टर्कीका राष्ट्रपति रेसिप तैयिप एर्दोगान, कम्बोडियाका प्रधानमन्त्री हुन मनेत र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु लगायतका नेताहरू पनि सम्मेलनमा सहभागी हुनेछन्।
ओली र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच शनिबार नै द्विपक्षीय भेटवार्ता तय गरिएको छ। प्रधानमन्त्री ओलीले भदौ १६ गते सम्मेलनमा विशेष अतिथिको हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ।
भदौ १८ गते ओली बेइजिङस्थित तियानमिन स्क्वायरमा आयोजना हुने जापानी उपनिवेशविरुद्ध चीनको विजय र विश्व फासिस्ट विरोधी दिवसको ८०औँ वार्षिकोत्सवको स्मृति समारोहमा पनि सहभागी हुनेछन्। सो समारोहमा २६ देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको उपस्थिति रहनेछ।



