spot_img

स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत अनिवार्य हाजिर हुनुपर्ने : मन्त्री न्यौपाने

spot_img
spot_img

रौतहट,१४ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूले अनिवार्य रूपमा हाजिर गर्नुपर्ने बताएका छन्।

गोरखापत्रसँग कुरा गर्दै मन्त्री न्यौपानेले खटाइएका प्रमुख  प्रशासकीय अधिकृतहरूलाई हाजिर नगराउन दबाब दिने वा रोक्ने स्थानीय तहको हकमा आर्थिक जिम्मेवारीसमेत रद्द गरिने चेतावनी दिए। उनले पहिलो चरणमा हाजिर गर्न कर्मचारीलाई प्रोत्साहित गर्ने र नमानेमा उनीहरूको हालको कार्यस्थलमै काम गर्न रोक लगाइने बताए।

हालै मन्त्रालयले १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरेको छ। रौतहटमा मात्र १५ जना उपसचिव र एक जना शाखा अधिकृत खटाइएका छन्। चन्द्रपुर नगरपालिका र दुर्गाभगवती गाउँपालिका बाहेक अन्य १६ स्थानीय तहमा यसअघि निमित्त प्रशासकीय अधिकृतहरूको जिम्मेवारी दिइएको थियो, तर अब दरबन्दी अनुसारका अधिकारी खटाइएपछि ती तहमा स्थायी प्रमुख प्रशासकीय अधिकृतहरूले काम गर्नेछन्।

नेपाल पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष प्रेमचन्द्र झाले सबै स्थानीय तहमा दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृतहरू खटाइएपछि विकास निर्माण, सुशासन र पारदर्शितामा सहयोग पुग्ने टिप्पणी गरेका छन्।

नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले पनि मन्त्रालयको निर्णयलाई स्वागत गर्दै, विगतमा निमित्त प्रमाओले जिम्मेवारी सम्हाल्दा विभिन्न समस्या देखिने गरेको बताए।

त्यस्तै, गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तह र प्रमुख प्रशासकीय अधिकृतहरू बीचको समन्वयको महत्व औंल्याउँदै, जनप्रतिनिधिसँग द्वन्द्व निम्त्याउने स्वभावका कर्मचारीलाई खटाउन नहुने सुझाव दिइन्।

मन्त्री न्यौपानेले दरबन्दी अनुसारका प्रमाओ पठाउने अभ्यासलाई निरन्तरता दिइने स्पष्ट पार्दै स्थानीय तहमा सुशासन र प्रभावकारी सेवा वितरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय