बीरगन्ज,१४ भदाै । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बीरगन्ज महानगरपालिका–१६ स्थित नयाँ बसपार्क पूर्वपट्टिको फुलवारी टोलमा शनिवार बिहान एक वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
बीरगन्ज महानगरपालिका, राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न प्रजातिका ५० बिरुवा रोपिएका छन्।
बिहान ७ः३० बजे सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राजेशमान सिंह थिए भने अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टसहित सुरक्षा निकायका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो।
करिब २५० जनाको सहभागिता रहेको कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र समुदाय–प्रहरी सहकार्यलाई मजबुत बनाउन विशेष जोड दिइएको थियो। अध्यक्ष खेतानका अनुसार वृक्षारोपण अभियानले बीरगन्जलाई हरियाली शहर बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ।



