काठमाडौँ,१४ भदाै । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारत र चीनबीच भएको व्यापारिक सम्झौतालाई नेपालको राष्ट्रिय अस्मितामाथिको प्रहारको रूपमा चित्रण गरेका छन्।
पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं ७ द्वारा आयोजित अन्तर्क्रियामा बोल्दै उनले लिपुलेक मार्ग हुँदै व्यापार सञ्चालन गर्ने सहमति स्वीकार्य नहुने स्पष्ट पारे। उनका अनुसार यस्तो कदमले नेपालको सार्वभौमिकतामा आँच पुगेकाले सरकार गम्भीर भएर कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता छ।
नेपालले महाकाली सम्झौतामा कालि नदीलाई नै सीमा मानिएको प्रसङ्ग उठाउँदै, त्यही आधारमा नेपालविरुद्ध हुने हस्तक्षेप रोक्न सरकारले कूटनीतिक दबाब दिनुपर्ने बताए। साथै उनले अमेरिकी सहयोग परियोजना (एमसिसी) पनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर मात्रै कार्यान्वयन गर्न सकिने टिप्पणी गरे।
पूर्वप्रधानमन्त्री नेपालले देशमा कम्युनिष्ट आन्दोलनमा उतारचढाव आए पनि वामपन्थी शक्तिलाई एकताबद्ध गर्ने प्रयास भइरहेको बताए। समाजवादी मोर्चा त्यही उद्देश्यका लागि बलियो बनाइने उनको भनाइ थियो।
अन्तर्क्रियामा बागमती प्रदेशसभा सदस्य बसन्त मानन्धरले संवैधानिक निकायमा भागबण्डा प्रथाले विकृति ल्याएको भन्दै त्यसको विकल्प खोजिनुपर्ने विचार व्यक्त गरे। उनले विकास निर्माणमा बिचौलियाको प्रभावका कारण युवा श्रमशक्ति विदेश पलायन भइरहेकोमा चिन्ता प्रकट गरे।
त्यस्तै, पार्टी केन्द्रीय अनुशासन आयोगका सदस्य विष्णु अर्याल र काठमाडौं जिल्ला अध्यक्ष लेखराज पौडेलले पार्टी नीति–सिद्धान्तलाई व्यवहारमा उतार्न नेताहरू प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।



