बीरगन्ज,१४ भदाै । गृहमन्त्री रमेश लेखक हैजाको सङ्क्रमण फैलिएको बीरगन्जआज (शनिवार) चिकित्सक टोलीसहित आउँदै छन्।
उनले संक्रमित बिरामीको उपचार अवस्था बुझ्ने, नियन्त्रणका लागि आवश्यक तयारीबारे छलफल गर्ने र स्थानीय निकायसँग समन्वय गर्ने उद्देश्यले भ्रमण गर्न लागेका हुन्। गृहमन्त्रीको सचिवालयका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका चिकित्सकसमेत टोलीमा सहभागी हुनेछन्, जसले प्रभावित क्षेत्रमा उपचार र सहजीकरण गर्नेछन्।
गृहमन्त्री लेखक आइतबार बिहान नारायणी अस्पतालमा उपचाररत बिरामी, अस्पताल प्रशासन र जिल्ला सुरक्षा समितिसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार गृहमन्त्रीको भ्रमण कार्यक्रम टुंगो लागेको हो।
यसअघि भदौ ८ गते गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले वीरगञ्जमा हैजा नियन्त्रण तथा उपचार व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको थियो। सो बैठकमा उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक सहयोगसहित परिचालन गर्न निर्देशन दिएका थिए।



