बीरगन्ज,१४ भदौ । पर्सा जिल्लामा हैजा र झाडापखालाको संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। स्वास्थ्य कार्यालय, पर्साका अनुसार शनिबार बिहान ७ बजेसम्म जिल्लाभर ७१२ जना संक्रमित दर्ता भएका छन्।
हालसम्म ३३ जना आईसीयूमा, ४ जना एचडीयूमा र १५८ जना सामान्य वार्डमा उपचाररत छन्, भने ५१७ जना निको भई डिस्चार्ज भइसकेका छन्। अझै १९५ जना बिरामी उपचारमा रहेका छन्।
हैजासम्बन्धी परीक्षण (सीएमटी किट) अनुसार १६२ जना बिरामीमा हैजा पुष्टि भएको छ। तिनमध्ये १०१ जना निको भई घर फर्किएका वा अन्यत्र रिफर भएका छन् भने ६२ जना अझै उपचारमा छन्।
स्वास्थ्य कार्यालयका अनुसार, साउन २८ गतेदेखि तराई अस्पतालमा झाडापखालाका बिरामी देखिन थालेका थिए। भदौ ५ गते पहिलो पटक हैजा पुष्टि भएपछि संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा नियन्त्रण र जनचेतनामूलक अभियान सञ्चालन भइरहेको छ।
अहिलेसम्म रेडियो संदेश, र्याली, माइकिङ र घरदैलो कार्यक्रममार्फत जनचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेका छन्। वीरगञ्ज महानगरपालिका र विभिन्न स्वास्थ्य निकायको सहकार्यमा २२ टोली जनचेतनामूलक अभियानमा, र ५ समूह तथ्यांक संकलनमा सक्रिय छन्।
यस्तै, स्वास्थ्य कार्यालयले मधेश प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमार्फत विभिन्न चरणमा सीएमटी किट र आवश्यक औषधि वितरण गरेको छ, साथै थप किट र औषधि आपूर्ति गर्न पहल भइरहेको जनाएको छ। संक्रमित क्षेत्रमा पानीको नमुना संकलन गरी सेन्ट्रल ल्याबमा परीक्षणका लागि पठाइएको छ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झाले नागरिकलाई सफा पिउने पानी प्रयोग गर्न, पकाएको खाना मात्र खान, व्यक्तिगत र घरपरिवारको सरसफाइमा ध्यान दिन र कुनै लक्षण देखिए नजिकैको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न आग्रह गरेका छन्।



