काठमाडौं,१५ भदौ । देशभर मनसुन सक्रिय रहेकाले आज धेरै स्थानमा वर्षाको प्रभाव देखिने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ, जसको असरले अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली देखिएको छ।
दिउँसोको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर आंशिकदेखि पूर्ण बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मध्यम वर्षा र गण्डकी तथा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाले विशेष गरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।



