काठमाडौं,१५ भदौ । उखु किसान आन्दोलनरत रहेको बेला दूध उत्पादक किसानहरूले पनि बक्यौता भुक्तानी नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्।
अखिल नेपाल किसान महासंघका अनुसार, काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) कार्यालयमा आज दिउँसो १२ बजे धर्ना कार्यक्रम राखिएको छ। महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा. भेषराज अधिकारीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि दूधको मूल्य भुक्तानी नभएकाले आन्दोलन अपरिहार्य बनेको बताए।
“गत वर्षदेखि नै भुक्तानी नपाउँदा किसानहरू आर्थिक संकटमा परेका छन्,” डा. अधिकारीले भने, “परिवारको खर्च, छोराछोरीको शिक्षा र पशुपालन खर्च व्यवस्थापन गर्न किसानहरूलाई निकै कठिनाइ भइरहेको छ।”
धर्ना करिब एक घण्टा चल्नेछ र कार्यक्रममा काभ्रे, नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका जिल्लाका किसानहरूको सहभागिता रहने महासंघले जनाएको छ।
यसअघि, सरकारले बजेट अभाव देखाउँदै उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँको अनुदान घटाएर ३५ रुपैयाँमा सीमित गरेपछि उखु किसानहरूले पनि आन्दोलन चर्काएका छन्। उनीहरूले भदौ २५ गतेदेखि राजमार्ग अवरोध गरेर विरोध गर्ने चेतावनी समेत दिएका छन्।



