spot_img

देशभर बाढी–पहिरोले १६ स्थानमा सडक अवरुद्ध

spot_img
spot_img

काठमाडौं,१५ भदाै । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग र मुख्य सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार हालसम्म १६ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही ठाउँमा मात्र एकतर्फी सञ्चालन भइरहेको छ।

काठमाडौं उपत्यका
नागार्जुन नगरपालिका–८ भिमढुंगामा पहिरो जाँदा धार्केतर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
कोशी प्रदेश
सङ्खुवासभाको भोटखोला–४ वरुण नदीमा बनेको डाइभर्सन बाढीले बगाएपछि कोशी राजमार्ग अवरुद्ध भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–३ तिनधुरेमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ।
बागमती प्रदेश
रसुवाको गोसाईंकुण्ड–२ मा चीनतर्फ जाने नाका जोड्ने पुल बाढीले बगाएपछि डेढ महिनादेखि सडक अवरुद्ध छ। सोही गाउँपालिकाको स्याउ पार्किङ क्षेत्रमा पहिरो जाँदा पासाङ ल्हामु सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने मेदामुदुङ क्षेत्रमा भने सडक आंशिक रूपमा खुला छ।
रसुवाकै उत्तरगया–५ नौबिसेमा बाढीका कारण गल्छी–त्रिशूली–स्याफ्रुवेसी सडक एकतर्फी मात्र सञ्चालनमा छ।
सिन्धुपाल्चोकको भोटेकोशी–२ कोदारीमा पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ भने नुवाकोटको विदुर–१० तिरतिरे भिरमा पहिरो गएपछि पासाङ ल्हामु सडक पूर्ण रूपमा रोकिएको छ।
गण्डकी प्रदेश
बागलुङ नगरपालिका–१३ कालाखोलामा पहिरो जाँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।नवलपरासी पूर्वको गैडाकोट–३ तरङखोलामा पहिरो गएर कालीगण्डकी करिडोर रोकिन पुगेको छ।तनहुँको बन्दिपुर–४ चुनपहरामा पहिरोका कारण पृथ्वी राजमार्ग एकतर्फी मात्र चलिरहेको छ। म्याग्दीको बेनी–४ घुमाउने भीरमा पहिरो जाँदा बेनी–दरवाङ सडक बन्द छ भने लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झर्नामा पहिरोले बेसीशहर–मनाङ सडक अवरुद्ध बनाएको छ।
लुम्बिनी प्रदेश
रोल्पा त्रिवेणी–२ मा घोराही–थवाङ सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।दाङको लमही–९ जालीमा बाढीका कारण राप्ती राजमार्ग रोकिन पुगेको छ। अर्घाखाँचीको सन्धिखर्क–९ बरमकोट नौलापानीमा पहिरो गएर सालझण्डी–ढोरपाटन सडक एकतर्फी मात्र चलिरहेको छ।
कर्णाली प्रदेश
रुकुम पश्चिमको आठबिसकोट–६ रिजिगारमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोही नगरपालिकाको ११ सिसापानीमा गएको पहिरोले जाजरकोट–डोल्पा भेरी करिडोर बन्द भएको छ।लीकोटको शुभकालिका–१ गगने खोलामा पहिरो गएपछि कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध छ। जाजरकोट भेरी नगरपालिका–४ मूलपानीमा बाढीले सडक बगाएको छ भने सोही नगरपालिकाको कालेगाउँ क्षेत्रमा पहिरो गएर जाजरकोट–खलङ्गा–रिन्ना सडक अवरुद्ध छ।
त्यस्तै, छेडागाड नगरपालिका–२ र ४ मर्फिङमा पहिरोले मध्यपहाडी लोकमार्ग बन्द भएको प्रहरीले जनाएको छ।

यसरी अविरल वर्षाका कारण सडक यातायात अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा आवतजावत तथा आपूर्ति व्यवस्थामा गम्भीर समस्या उत्पन्न भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय