राजविराज,१६ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जलस्रोतमा धनी भए पनि सरकारले प्रभावकारी नीति लागू नगर्दा जनताले अझै शुद्ध खानेपानी पाउन नसकेको आरोप लगाएका छन्।
आइतबार सप्तरीको राजविराजमा आयोजित नगर समिति पदाधिकारी र सदस्यहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै यादवले कांग्रेस र कम्युनिस्ट नेतृत्वको सरकारलाई असफल ठहर गर्दै भने, “देश जलस्रोतमा धनी छ, तर जनताले पिउने पानी पनि शुद्ध नपाएर हैजाले ज्यान गुमाइरहेका छन्।”
उनले ३५ वर्षदेखि कांग्रेस–कम्युनिस्ट नेतृत्वको सरकार भए पनि न त शुद्ध खानेपानी उपलब्ध भएको छ, न किसानका लागि सिँचाइको पहुँच पुगेको छ भनेर आलोचना गरे। “नेपालको जीवन प्रणाली कृषिमा आधारित भए पनि सबैभन्दा धेरै उपेक्षित किसान नै भएका छन्,” यादवले थपे, “यही कारण किसानहरू अझ गरिब हुँदै गइरहेका छन्।”
यादवले शिक्षा, स्वास्थ्य र उद्योगको कमजोर अवस्थाको पनि आलोचना गरे। बेरोजगारी र आर्थिक समस्याले जनताले छाक टार्न संघर्ष गरिरहेको तर सरकार मौन रहेको उनको भनाइ थियो।
उनले सरकारले जनताको आवश्यकता पूरा गर्नभन्दा दलाली र भ्रष्टाचारमा ध्यान दिएको आरोप समेत लगाए। “उखु किसान आन्दोलनरत छन्, तर सरकारले चासो दिएको छैन,” उनले भने, “बरु मधेशी जनतालाई शोषण गर्न र कमिसनका लागि भूमि विधेयक पास गराउन मरिहत्ते गरिरहेका छन्।”
संघीयता सम्बन्धी धारणा राख्दै यादवले वर्तमान सरकारले प्रदेशलाई अधिकारविहीन बनाएर संघीय प्रणालीलाई औचित्यहीन बनाएको बताए। “साँचो संघीयताको अनुभूति जनताले पाउन प्रदेशलाई आफ्नै शासन, प्रशासन, न्यायालय र कर्मचारीतन्त्रको अधिकार हुनुपर्छ,” उनले भने, “अहिले भने नाम मात्रको प्रदेश छ, काम केही छैन।”



