काठमाडौं,१६ भदौ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति बेलका नगरपालिका–२, कञ्चनजङ्गास्थित हिमशिखर सामुदायिक बोर्डिङ स्कुलका ४७ वर्षीय प्रधानाध्यापक युवराज श्रेष्ठ हुन्। यो जानकारी जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले दिएका छन्।
पीडित बालिकाकी भाउजुले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरी टोलीले प्रधानाध्यापक श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
पीडित पक्षका अनुसार, प्रधानाध्यापक श्रेष्ठले बालिकालाई प्रेम प्रस्ताव राखेका थिए, जस अस्वीकार भएपछि गत शनिबार बिहान ट्युसनको नाममा विद्यालय बोलाई कार्यालय कोठामा जबरजस्ती करणी गरेको आरोप छ। प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।



