बीरगन्ज,१६ भदाै । हैजाको जोखिम बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी बीरगन्ज शाखाले वडा नं. १५ का स्थानीयलाई लक्षित गर्दै निःशुल्क किट वितरण गरेको छ।
जीवनजल (ORS), साबुन, पीयूष लिक्विड र पानी शुद्ध गर्ने ट्याबलेटसहितको किट वितरण गर्दै रेडक्रसले हैजाको रोकथाम र प्रारम्भिक उपचारमा सहयोग पुग्ने जनाएको छ।
कार्यक्रमका प्रमुख उमेश मिश्रका अनुसार किट वितरणसँगै हैजाबारे सचेतना अभियान पनि सञ्चालन गरिएको हो। स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले सरसफाइमा ध्यान दिनुपर्ने, नियमित साबुनपानीले हात धुने, पानी उमालेर मात्र पिउने तथा खानपानमा सावधानी अपनाउनुपर्नेबारे जनतालाई व्यवहारिक रूपमा जानकारी दिएका छन्।
रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ताले स्वच्छ पानी र सरसफाइलाई हैजा नियन्त्रणको मुख्य आधार भन्दै वितरण सामग्रीहरूले परिवारलाई प्रारम्भिक स्तरमै सुरक्षित राख्न मद्दत गर्ने बताए।
स्थानीयवासी विकास साहले हैजाको डरले त्रसित भइरहेका बेला रेडक्रसले आवश्यक सामग्री र जानकारी उपलब्ध गराएपछि राहतको अनुभूति भएको बताए।
यसैबीच, स्वास्थ्य कार्यालय पर्साले बीरगन्जका विभिन्न क्षेत्रमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै सतर्क रहन आग्रह गरेको छ। चिकित्सकहरूले दूषित पानी सेवन नगर्नु, खुला स्थानमा दिसा नगर्नु र साबुनपानीले नियमित हात धुनु हैजा नियन्त्रणको मुख्य उपाय भएको औंल्याएका छन्।
रेडक्रस वीरगञ्ज शाखा सदस्य तथा कार्यक्रम संयोजक दयाशंकर सिंहका अनुसार वडा नं. १४, १५ र १६ मा यस्ता किट वितरण र डाटा संकलन कार्यक्रम विस्तार हुँदैछ। कार्यक्रममा गुडी कुमारी साहको नेतृत्वमा प्रमोद प्रसाद यादव, अभिलाष गुप्ता, विकास कुमार साह, राजेन्द्र ठाकुर, श्याम महतो, राजु साहलगायत स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।



