बीरगन्ज,१८ भदौ । संघीय खानेपानी मन्त्री प्रदीप यादवलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकी बारा, कलैयाकी किरण साहको हिरासत म्याद तीन दिनका लागि थपिएको छ।
पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार साहलाई आइतबार पहिलोपटक तीन दिनका लागि म्याद लिइएकोमा मंगलबार जिल्ला अदालत पर्साबाट थप तीन दिनको अनुमति प्राप्त भएको हो। “घटनाबारे थप अनुसन्धान भइरहेको छ,” उनले जानकारी दिए।
साहविरुद्ध मन्त्री यादवका स्वकीय सचिव हरेन्द्र साहको जाहेरीका आधारमा शनिबार प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो। उनीमाथि साइबर अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की र अफवाह फैलाएको जस्ता आरोप लगाइएको छ।
यस घटनापछि जिल्ला प्रहरी कार्यालय परिसर बाहिर विभिन्न खालका प्रदर्शन भएका छन्। पूर्वसांसद तथा पूर्वमन्त्री करिमा बेगमको नेतृत्वमा महिलाहरूको समूहले सोमबार साहको अविलम्ब रिहाइको माग गर्दै प्रदर्शन गरेका थिए।
उता मंगलबार जनता समाजवादी पार्टी (जसपा) निकट महिलाहरूले भने साहविरुद्ध कडा कारबाहीको माग गर्दै प्रदर्शन गरे। उनीहरूले “खानेपानीमा राजनीति गर्न पाइँदैन” र “मन्त्रीलाई धम्की दिने किरण साहलाई कारबाही गर” जस्ता नारासहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए।




