काठमाडौं,१८ भदौ । राजधानीको गोंगबुस्थित टाउन प्लानिङबाट ठूलो परिमाणमा नगद र सुनसहित पक्राउ परेका विनोद श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार, प्रहरीले मंगलबार श्रेष्ठको घरमा छापा मारेर ४ करोड २५ लाख ५० हजार नगद र ९ किलो ८३७ ग्राम सुनका गरगहना बरामद गरेको थियो । चामलको बोरामा लुकाएर राखिएको सो रकम र गरगहनासहित ७६ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको खुलेको छ । उनले बैंकबाट ठूलो कारोबार गर्न नमिल्ने भएकाले घरमै पैसा राखेको बयान दिएका छन् । उनको घरबाट ३ किलो २१८ ग्राम चाँदी पनि बरामद भएको छ । यस प्रकरणमा थप कारबाहीका लागि प्रहरीले श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा बुझाउने निर्णय गरेको छ।



