spot_img

बीरगन्जमा दुई सातापछि विद्यालय खुले

spot_img
spot_img

बीरगन्ज,१८ भदाै । पर्साको बीरगन्जमा फैलिएको झाडापखाला र हैजाको सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भएको छ। संक्रमण घटेसँगै दुई सातादेखि बन्द रहेका विद्यालय तथा शैक्षिक संस्था आज (बुधबार) देखि पुनः सञ्चालनमा आएका छन्।

स्वास्थ्य शाखा वीरगन्जका अनुसार पछिल्लो २४ घण्टामा केवल दुई जनामा हैजा पुष्टि भएको छ भने १२ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन्। आइतबारको तथ्याङ्कमा हैजा १५ र झाडापखाला ८८ जना रहेका थिए, जसको तुलनामा संक्रमित संख्या उल्लेख्य घटेको देखिन्छ।

नारायणी अस्पतालका डा. उदयनारायण सिंहका अनुसार १२ दिनमा संक्रमण दर ६० प्रतिशतले घटेको छ। हाल अस्पतालमा १६ जना बिरामी उपचाररत छन्, जसमध्ये दुई मात्र आइसियुमा छन्। उनले केही दिनमै हैजा संक्रमण शून्यमा पुग्ने अपेक्षा गर्दै जनचेतना र सावधानी नै रोकथामको मुख्य उपाय भएको बताए।

बुधबारसम्म वीरगन्जका विभिन्न अस्पतालबाट ८६४ जना निको भई घर फर्किसकेका छन्। हालसम्म १८२ जनामा हैजा पुष्टि भएकोमा १७५ जना निको भइसकेका छन् भने ६ जना अझै उपचाररत छन्।

संक्रमण नियन्त्रणका लागि महानगरले संघ र प्रदेश सरकारसँग समन्वय गरी स्वास्थ्यकर्मी परिचालन, जनचेतना कार्यक्रम, खानेपानीमा क्लोरिन मिलाउने, ट्यांकी सरसफाइ, तथा सडकमा बेचिने पानीपुरी–चाटजस्ता खाद्यवस्तुमा प्रतिबन्ध जस्ता कदम चालेको छ।

चिकित्सकहरूले संक्रमण घटे पनि व्यक्तिगत सरसफाइ, उमालेको पानी पिउने बानी र हात धुने अभ्यासलाई निरन्तरता दिन आग्रह गरेका छन्। स्वास्थ्य विज्ञहरूले दीर्घकालीन समाधानका लागि सरसफाइ र खानेपानी पूर्वाधार सुधारमा जोड दिनुपर्ने सुझाव दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय