बीरगन्ज,१९ भदौ । पर्सामा हैजाको संक्रमण सुरु भएको दुई साता बितिसक्दा पनि यसको वास्तविक स्रोत पत्ता लाग्न सकेको छैन। स्थानीयदेखि संघीय तहसम्मका निकाय सक्रिय भए पनि प्रकोप पूर्ण नियन्त्रणमा आउन सकेको छैन।
सुरुवातमा बीरगन्ज महानगरपालिकाभित्र सीमित देखिएको संक्रमण अहिले करिब २० किलोमिटर पश्चिमस्थित पोखरिया नगरपालिकासम्म फैलिएको छ। बुधबार साँझसम्म वीरगन्जमै १८२ जनामा हैजा पुष्टि भइसकेको छ। तीमध्ये अधिकांश निको भइसकेका भए पनि १० जना अझै उपचाररत छन्। पोखरियामा समेत १३ जना संक्रमित पुष्टि भएसँगै जिल्लाभर हालसम्म संक्रमितको संख्या १९५ पुगेको छ।
जिल्लाभरका अस्पतालमा हालसम्म ९६५ जना हैजा वा झाडापखाला आशंकित बिरामी उपचारका लागि पुगेका छन्। तीमध्ये अधिकांश डिस्चार्ज भइसकेका भए पनि ५५ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये ८ जना आइसियु, १ जना एचडियु र ४६ जना सामान्य वार्डमा छन्। पछिल्लो २४ घण्टामा मात्रै ५१ नयाँ बिरामी थपिएका छन्।
प्रकोप फैलिन नदिन भन्दै डेढ सातादेखि बन्द गरिएका विद्यालय बुधबारदेखि आंशिक सञ्चालनमा आएका छन्। फिलहाल कक्षा ८ माथिको पठन–पाठन मात्र सुरु भएको छ।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार सुरुवाती दिनमा अस्पतालमा आएका झाडापखालाका बिरामीमध्ये करिब ५० प्रतिशतमा हैजा पुष्टि हुने गर्थ्यो। तर पछिल्लो डेढ सातादेखि यो दर घटेर १० प्रतिशत हाराहारीमा पुगेको छ। “स्थिति नियन्त्रणतर्फ गएको देखिन्छ, तर सर्वसाधारणले उच्च सतर्कता अपनाउन जरुरी छ,” उनले भने।





