सुनसरी,१९ भदौ । झुम्का कारागारमा अज्ञात रोगको प्रकोपका कारण चार दिनमै तीन जना कैदीबन्दीको मृत्यु भएको छ। प्रारम्भमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता जस्ता लक्षण देखिएको बताइएको छ।
पछिल्लो मृत्यु बुधबार दिउँसो सप्तरीका ४६ वर्षीय जलेश्वर यादवको भयो। उनलाई बेहोस भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। यादव जबरजस्ती करणी मुद्दामा कारावास भोगिरहेका थिए।
यसअघि सोमबार दुई अन्य कैदीबन्दीको मृत्यु भएको थियो। गढी गाउँपालिका(६) का ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको उपचारको क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। उराव कर्तब्य ज्यान मुद्दामा, राई लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
कारागारमा चार दिनभित्र लगातार मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीले अनुगमन टोली पठाएर स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बुधबार रातिदेखि दुबै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण सुरु भएको छ। प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार मध्यरातसम्म १६० भन्दा बढी कैदीहरूको परीक्षण सम्पन्न भइसकेको छ। रिपोर्ट आएपछि बिरामीको कारण पत्ता लाग्ने विश्वास गरिएको छ।
झुम्का कारागारमा हाल १,७९४ कैदी रहेका छन्।




