काठमाडौँ,१९ भदाै । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले यो निर्णय लिएको हो।
बैठकमा मन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका उच्च अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर र इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू सहभागी थिए। बैठकपछि मन्त्रालयले सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाललाई निष्क्रिय पार्ने निर्णय गरेको छ र यसबारे सम्बन्धित कम्पनीहरूलाई पत्र पठाउने तयारी भइरहेको छ।
एक सहभागी अधिकारीका अनुसार प्रतिबन्ध आजै रातिदेखि लागू हुने छ। सरकारले यसअघि सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्मलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन समय दिएको थियो, तर बुधबार रातिसम्म कुनै पनि ठूला कम्पनीले दर्ता प्रक्रियाका लागि सम्पर्क गरेको थिएन।
हालसम्म मेटा (फेसबुक, इन्स्टाग्राम), अल्फाबेट (युट्युब, गुगल), एक्स (ट्विटर), रेडिट र लिंक्डइनजस्ता प्रमुख प्लेटफर्महरूले सूचीकरणका लागि पहल नगरेको मन्त्रालयले जनाएको छ।
यसअघि नै सरकारले तोकिएको समयभित्र दर्ता नभए सामाजिक सञ्जालहरूलाई क्रमशः निष्क्रिय पार्ने चेतावनी दिएको थियो।



