काठमाडौँ,१९ भदौ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकका दुई बुँदामा असहमति जनाउँदै विधेयक नसच्याए पठनपाठन ठप्प पार्ने चेतावनी दिएका छन्।
शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) द्वारा बिहीबार आयोजना गरिएको कार्यक्रममा प्याब्सन लगायतका निजी विद्यालय संघ संगठनका प्रतिनिधिहरूले आगामी निर्वाचनमा विधेयकको विरोध गर्ने सांसदलाई मत नदिने चेतावनीसमेत दिएका छन्।
प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगानाले भने, “जुन दलले निजी विद्यालयको विरोध गर्छ, त्यसको अगाडि उभिनेछौँ। देशको विकासमा काम गर्ने पक्षमा स्पस्ट भएर उभिन्छौँ। निजी विद्यालयले शिक्षामा गरेको योगदानलाई नबिर्सनुपर्छ।”
निजी विद्यालय सञ्चालकहरूले मुख्य रूपमा विधेयकमा रहेका दुई प्रावधानलाई चुनौती दिएका छन्—निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति लागू गर्ने। यी प्रावधान हटाउन नसकेमा उनीहरूले पठनपाठन ठप्प पार्ने चेतावनी दिएका छन्।
प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले भने, “दुईवटा विषय मान्य हुँदैन। माग पूरा नभए पठनपाठन ठप्प हुनेछ र त्यसको जिम्मा माननीयहरूले लिनुपर्छ।”
एनप्याब्सनका अध्यक्ष सुवास न्यौपानेले भने, “पूर्ण छात्रवृत्ति भनेको आवास, खानपिन, स्टेशनरी सबैको व्यवस्था गर्नु पर्छ, जुन हाल सम्भव छैन। सरकारले सामुदायिक विद्यालयमा खाजाको व्यवस्था पनि गर्न सकेको छैन।”
निजी विद्यालय सञ्चालकहरूले भदौ २५ गते सशक्त आन्दोलनका लागि सडकमा आउने चेतावनी दिएका छन्। उनीहरूको अडान अनुसार वार्षिक, मासिक र भर्ना शुल्क मार्फत मात्र छात्रवृत्ति दिन सकिने छ।
पूर्वअध्यक्ष ढुंगानाले भने, “विधेयक सच्याउन सम्बन्धित निकायसँग वार्ता भइरहेको छ। राष्ट्रपति, प्रधानमन्त्री, सांसद र नेतासँग भेटेर एजेन्डा सम्बोधन हुने विश्वास छ।”



