काठमाडौं,२० भदाै । नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन समारोहमा सहभागी भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरूसँगको सवाल–जवाफमा रोचक प्रतिक्रिया दिएका छन्।
कार्यक्रमस्थल प्रवेश गर्दा एक पत्रकारले मन्त्रीसँग सोधे, “फेसबुक बन्द भइहाल्यो, फोटोहरू अब कहाँ राख्ने?” यस अप्रत्याशित प्रश्नमा मन्त्री गुरुङले हँस्दै जवाफ दिए, “फेसबुकबाहेक अरू पनि छन् नि त।” पत्रकारले पुनः प्रश्न तेर्स्याए, “२६ वटा बन्द छन्, अब केमा राख्ने?” मन्त्री गुरुङले जवाफमा भने, “भाइबरमा हाल्नुस्। अरू पनि ५–७ वटा छन्।”
यसअघि सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको थियो। यस निर्णय कार्यान्वयनसँगै नेपाल टेलिकम, एनसेल र वर्ल्डलिङ्कले फेसबुक, इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जालहरूको पहुँच अवरुद्ध गरेका छन्।
सरकारको यो कदम राजनीतिक र सामाजिक वृत्तमा तीव्र बहसको विषय बनेको छ।





