बीरगन्ज,२१ भदाै । पर्सामा हैजासहित झाडापखालाका बिरामीको संख्या क्रमशः घट्न थालेको छ। नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार पछिल्लो २४ घण्टामा जम्मा २८ नयाँ बिरामी मात्रै अस्पतालमा आएका छन्। उनका अनुसार, “तीन–चार दिनयताको तथ्यांकले नयाँ संक्रमित थपिने दर घटेको देखिन्छ। यही क्रममा कमी हुँदै गए एक साताभित्र बिरामीको संख्या उल्लेख्य घट्नेछ।”
सुरुमा धेरै संक्रमित भेटिएका वीरगन्ज महानगरपालिका–१२ र १३ बाट पनि नयाँ बिरामी आउने क्रम प्रायः रोकिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म वीरगन्ज र पोखरियामा गरी २ सय २ जना हैजा संक्रमित पुष्टि भएका छन्। तीमध्ये १ सय ८८ जना वीरगन्जका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेका हुन् भने १४ जना पोखरिया अस्पतालमा उपचार गराइरहेका छन्।
कुल संक्रमितमध्ये १ सय ८६ जना निको भएर घर फर्किएका छन् भने १६ जना अझै पनि उपचाररत छन्।
दुई सातामा १ हजार ५४ झाडापखाला तथा हैजाका बिरामी उपचारका लागि अस्पताल पुगेका मध्ये ९ सय ४९ जना डिस्चार्ज भइसकेका छन्। अहिले पनि १ सय ५ जना विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये ११ जना आइसियूमा, ५ जना एचडीयूमा र ८९ जना सामान्य वार्डमा छन्।
अस्पतालवार हैजा संक्रमितको संख्या हेर्दा नारायणी अस्पतालमा ६२ जना, तराई अस्पतालमा ५१ जना, नेसनल मेडिकल कलेजमा २९ जना, वीरगन्ज हेल्थ केयरमा ११ जना र भवानी अस्पतालमा १० जना उपचार गराइरहेका छन्।





