काठमाडौं,२२ भदौ । आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७/८ राति) खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०:११ बजे सुरु भई ११:५६ बजे मध्य पुग्नेछ भने १:४१ बजे मोक्ष हुनेछ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यस ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै स्थानबाट ग्रहण सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।
ज्योतिषीय प्रभाव
ज्योतिषशास्त्रअनुसार ग्रहणले राशिअनुसार फरक–फरक असर पार्नेछ।
-
लाभ हुने राशि : मेष, वृष, कन्या, धनु
-
हानि हुने राशि : मिथुन (मानहानी), कर्कट (कष्ट), सिंह (स्त्रीपीडा), तुला (चिन्ता), वृश्चिक (व्यथा), मकर (क्षति), कुम्भ (घात), मीन (व्यय)
शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्मेका तथा कुम्भ राशि भएका मानिसलाई यस ग्रहणको प्रभाव विशेष कष्टदायी हुने भनाइ छ। त्यसैले यी राशिका व्यक्तिलाई ग्रहण नहेर्न सिफारिस गरिएको छ।
के गर्न हुँदैन ?
धार्मिक मान्यताअनुसार ग्रहणको केही घण्टा अगाडिदेखि नै सुतक लाग्छ। आज दिउँसो १:११ बजेदेखि ग्रहण मोक्ष नभएसम्म बालबालिका, वृद्ध र बिरामी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। ग्रहण अवधिमा हवन, मन्त्रजप, दान जस्ता कार्यलाई शुभ मानिन्छ भने सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा हिंसात्मक कार्य निषेध गरिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
अर्को ग्रहण कहिले ?
फाल्गुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाको दिन अर्को खण्डग्रास चन्द्रग्रहण लाग्नेछ।




