काठमाडौं,२३ भदौ । नेपाल सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाललाई चार दिनअघि निष्क्रिय बनाए पनि प्रमुख अन्तर्राष्ट्रिय कम्पनीहरूले अझै कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म लिंक्डइन, टेलिग्राम र स्न्यापच्याट मात्र सूचीकरण प्रक्रियामा चासो देखाएका छन्। तर, फेसबुक सञ्चालक कम्पनी मेटा, युट्युब (गुगल) र एक्स (ट्विटर) जस्ता ठूला प्लेटफर्मले कुनै प्रतिक्रिया दिएका छैनन्।
मन्त्रालय स्रोतले जनाएको अनुसार नेपाल भ्रमणमा रहेका बेला मेटाका प्रतिनिधिले सूचीकरणमा चासो देखाए पनि सिंगापुर फर्केपछि “नेपालको प्रक्रिया झन्झटिलो छ” भन्दै पछि हटेका थिए। मन्त्रालयका अधिकारीका अनुसार निष्क्रियता लागू भएपछि आएको इमेल पनि मेटाको आधिकारिक पत्र नभई एक कर्मचारीको व्यक्तिगत नामबाट आएको पाइएको छ।
“युट्युबले पनि अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन,” मन्त्रालय अधिकारीले भने, “हामीले सूचीकरणका लागि आवश्यक प्रक्रिया पहिल्यै जानकारी गराइसकेका थियौँ।”
नेपाल सरकारले गत साता सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो। यसपछि प्रयोगकर्तामाझ केही असहजता देखिए पनि सरकारले सञ्जाल नियमन र पारदर्शिता कायम गर्न यो कदम चालेको दाबी गरेको छ।




