बीरगन्ज,२३ भदाै । बारामा गत एक महिनाभित्र बाघको आक्रमणबाट चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५५ वर्षीय छेवाङ्ग लामा, जीतपुरसिमरा–२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, सोही वडाकै रमेश कार्की र मकवानपुरको मनहरी गाउँपालिकाका ५५ वर्षीय चन्द्रबहादुर भुलन रहेका छन्।
अन्तिम घटनामा, आइतबार जीतपुरसिमरा–१ स्थित प्रगतिशिल सामुदायिक वनमा च्याउ टिप्न जङ्गल गएका छेवाङ्ग लामालाई बाघले आक्रमण गरेको थियो। घटनास्थलमा शव देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।
बाघलाई नियन्त्रणमा लिन चितवनबाट डार्ट टोली परिचालन गरिएको छ। पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार दुई वटा हात्ती सौराहाबाट बाघको खोजीका लागि आएका छन् र पशु चिकित्सकसहितको टोली जङ्गल क्षेत्रमा परिचालन गरिएको छ।




