वीरगञ्ज, २४ भदौ – वीरगञ्जमा स्थानीय प्रशासनले जारी गरेको कफ्युको अवज्ञा गर्दै बिहानैदेखि सुरु भएको प्रदर्शन अहिले पनि जारी छ । वीरगञ्जको आदर्शनगर, माइस्थान, रेल्वेरोड, घण्टाघरलगायतका चौकहरूमा जेनजी ग्रुपका विद्यार्थी तथा युवाहरूले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा अहिले आम सर्वसाधारण युवाहरूको समेत उपस्थिति बढ्न थालेको छ ।
वीरगञ्जको माइस्थान र घण्टाघर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको छ । प्रदर्शनकारीहरूले निरन्तर सुरक्षाकर्मीमाथि ढुंगामुढा गरिरहेका छन् ।
वीरगञ्ज बजारको स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले दुई दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेका छन् । माइस्थान चौकबाट सुरक्षाकर्मीहरू सर्दै घण्टाघर नजिकै रहेको पर्सा जिल्ला प्रशासन कार्यालयतर्फ पुगेका छन् भने युवाहरू पनि त्यही कार्यालयतर्फ अघि बढ्न खोजिरहेका देखिन्छन् ।
घण्टाघरबाट जिल्ला प्रशासन कार्यालय जाने बाटोमा प्रदर्शनकारी युवाहरू अघि बढ्न खोजेपछि पनि सुरक्षाकर्मीहरूले पुनः दर्जनौँ अश्रुग्यास प्रहार गरेका छन् । वीरगञ्जमा प्रदर्शन मंगलबार हिजोको तुलनामा अझ आक्रोशपूर्ण देखिएको छ ।
प्रदर्शनकारीहरूले घण्टाघरस्थित प्रहरी बिटमा समेत आगजनी गरेका छन् ।

