काठमाडौं,२५ भदाै । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आन्दोलनको दबाबमा छुटाइएपछि देशभरका जेलहरूमा ठूलो अशान्ति फैलिएको छ । यसकै क्रममा करिब ६ हजार कैदी एकैपटक फरार भएका छन् ।
कैदीहरूले सुरक्षाकर्मीलाई धम्क्याउँदै निस्किएपछि विभिन्न अपराधमा सजाय काटिरहेका व्यक्तिहरू बाहिर आएकाले सर्वसाधारण त्रासमा परेका छन् । पीडित परिवार र उजुरीकर्ताहरू भने धम्की र आक्रमणको डरले घर छाड्न बाध्य भएका छन् ।
राज्यको शान्ति–सुरक्षाको आधारभूत जिम्मेवारी ध्वस्त भएको अवस्थामा प्रहरी र प्रशासन पूर्ण रूपमा प्रभावहीन देखिएको छ । प्रहरी संरचना कब्जामा पारिएको र उनीहरूका हतियारसम्म लुटिएको खबरहरू सार्वजनिक भएका छन् ।
न्यायालयसमेत आक्रमणको मुख्य निशाना बनेका छन् । फरार कैदीहरूले देशभरका अदालतमा आगजनी गरेका छन् भने न्यायाधीश र उजुरीकर्तामाथि समेत प्रत्यक्ष खतरा देखिएको छ ।
नख्खु कारागारबाट कुख्यात अपराधी सञ्जय टक्ला समेत निस्किएपछि मधेसमा थप आतंक बढेको छ । २०६९ साल वैशाख १८ मा जनकपुरमा भएको विस्फोट घटनाका मुख्य अभियुक्त रहेका उनी लामो समयदेखि सजाय काटिरहेका थिए ।
यस्तै डिल्लीबजार कारागारमा कैदीहरूले तोडफोड र आगजनी गरेपछि सेनाले हस्तक्षेप गर्नुपरेको थियो । अहिले नख्खु, डिल्लीबजार, कैलाली, कास्की, झुम्का, सोलु, रौतहट, भीमफेदीलगायतका कारागार प्रायः खाली भएका छन् ।
देशभरका सडकमा साना तथा स्वचालित हतियार बोकेका मानिसहरू देखिन थालेपछि थप अपराध र हिंसाको जोखिम बढेको सुरक्षा स्रोतले जनाएको छ । यतिबेला राज्य संयन्त्र कमजोर बनेको र कोही पनि प्रत्यक्ष रूपमा जिम्मेवारी लिन नसकेको अवस्था देखिएको छ ।





