काठमाडौं,२७ भदौ । ‘जेन–जी’ आन्दोलनका क्रममा मुलुकभरका १४ आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त भएका छन्। अर्थ मन्त्रालयले यसलाई गम्भीर क्षति ठहर गर्दै वैकल्पिक व्यवस्था अन्तर्गत अनलाइन प्रणालीमार्फत राजस्व संकलन र भन्सार जाँचपास निरन्तर रहेको जनाएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा स्थित आन्तरिक राजस्व कार्यालयहरू पूर्णरूपमा नष्ट भएका छन्। यस्तै कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका कार्यालय आंशिक क्षतिग्रस्त भएका छन्।
भन्सार कार्यालयतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुर पूर्णरूपमा जलेका छन् भने विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडीमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।
भौतिक कार्यालय ध्वस्त भए पनि आईएसपी प्रणाली सुरक्षित रहेकाले कर संकलन अनलाइनबाटै सुरु गरिएको मन्त्रालयले स्पष्ट पारेको छ। भन्सार कार्यालयहरूले पनि अत्यावश्यक आयातमा अवरोध नआओस् भनी अनलाइन प्रणालीमार्फत जाँचपास सुरु गरिसकेका छन्।
आन्दोलनका क्रममा अर्थ मन्त्रालयकै परिसरमा रहेको बजेट महाशाखा पूर्णरूपमा जलेको छ। साथै, झन्डै १५ गाडी र ठूलो संख्यामा मोटरसाइकल समेत नष्ट भएको मन्त्रालयले जानकारी दिएको छ। मुख्य भवन भने सुरक्षित रहेको छ।
प्रवक्ता पाण्डेका अनुसार, नयाँ सरकार गठनसँगै आवश्यक पूर्वाधार र प्रणालीगत तयारीसहित मन्त्रालयका सबै सेवाहरू चरणबद्ध रूपमा सुचारु गरिनेछ। नागरिक सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक माध्यमबाट सेवा निरन्तरता दिने समन्वय भइरहेको उनले बताए।



