काठमाडौं, २७ भदौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बन्द भएको यातायात सेवा तत्काल सुचारु गर्न सरकार, राजनीतिक दल र सरोकारवाला निकायसँग आग्रह गरेको छ। महासंघले जेनजी आन्दोलनका मागलाई शान्तिपूर्ण संवाद र सहकार्य मार्फत सम्बोधन गर्न आवश्यक रहेको पनि जोड दिएको छ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले जारी विज्ञप्तिमा भनेका छन्, “सडक यातायातको सहज प्रवाहविना मुलुकको आर्थिक क्रियाकलाप असम्भव छ। उद्योग–व्यापार, कृषि उत्पादन, औषधि आपूर्ति र आम नागरिकको दैनिकी सबै यातायातमा निर्भर रहेकाले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्छ।”
महासंघले कानुनसम्मत काम गर्ने, कर तिर्ने, रोजगारी सिर्जना गर्ने र देशको अर्थतन्त्र गतिशील बनाउने यातायात व्यवसायीलाई पूर्ण कानुनी सुरक्षा दिनुपर्ने माग गरेको छ। साथै, आन्दोलनका कारण दैनिक नोक्सानी बेहोर्ने यस क्षेत्रलाई तात्कालिक राहत र क्षतिपूर्ति सुनिश्चित गर्न पनि अपील गरेको छ।
महासंघले जनाएको छ कि पछिल्ला केही दिनदेखि सडक यातायात पूर्ण रूपमा ठप्प भएको छ। यसको प्रभाव:दैनिक उपभोग्य सामग्री, कच्चापदार्थ र औद्योगिक उत्पादनको आपूर्ति प्रभावित,चालक, सहचालक र मजदुरहरूको जीविका संकटमा,सर्वसाधारण नागरिकको दैनिक आवागमनमा गम्भीर कठिनाइ बानियाँले सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गर्दै संविधानको रक्षा गर्दै यातायात सुचारु गर्न जोड दिएका छन्।
महासंघले यो कदम मुलुकलाई शान्ति, समृद्धि र स्थायित्व तर्फ लैजान सहयोगी हुने विश्वास व्यक्त गरेको छ।




