spot_img

जेनजी आन्दोलनमा बीरगन्जका असहावको मृत्यु, बस्ती शोकमा

spot_img
spot_img

बीरगन्ज,२८ भदौ । जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर बीरगन्ज–१२ का २२ वर्षीय असहाव आलम ठकुराईले ज्यान गुमाएपछि मुर्लीबस्ती शोकमा डुबेको छ।

दुई महिनाअघि मात्र भारतको विहारस्थित बेल्दर्वाकी रोक्सिता खातुनसँग विवाह गरेका असहावको वैवाहिक जीवन सुरु हुनासाथ अन्त्य भएको छ। उनका आमा नजला खातुन र पत्नी रोक्सिता शोकमा निरन्तर मुर्छा पर्ने गरेका छन्।

असहाव विगत तीन वर्षदेखि काठमाडौंमा अध्ययन तथा रोजगारीका लागि बस्दै आएका थिए। मङ्गलबार पठाओमार्फत यात्रु लैजाने क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको परिवारको दाबी छ। उनको शव शिक्षण अस्पताल महाराजगञ्जमा भेटिएको थियो।

“मेरो छोरा श्रवणकुमार जस्तै थियो। भर्खरै बुहारी ल्याएको थियो, अहिले बुहारीको सिउँदो उजाडियो,” आमा नजलाले आँसु झार्दै भनिन्।

छिमेकी मनोज गुप्ताले असहावलाई मिजासिलो, मिलनसार र सबैको प्रिय भएको स्मरण गरे। उनका काका असराल आलमले असहावको बलिदान मुलुकमा नयाँ परिवर्तनको सुरुवात बन्ने विश्वास व्यक्त गरे।

शुक्रबार साँझ मुर्लीबासीले प्रतिमाचोकमा मैनबत्ती बालेर असहावलाई श्रद्धाञ्जली अर्पण गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय