जनकपुर,२८ भदौ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भदौ २४ गते जेनजी आन्दोलन चर्किँदा फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए। तर अन्तरिम सरकार गठन भएपछि उनले आफ्नो अघिल्लो भनाइ फेरेका छन्।
सिंहले शुक्रबार पत्रकारसँग भने, “त्यो दिन विषम परिस्थितिमा जनधनको क्षति नहोस् भनेर राजीनामा दिन तयार भएको थिएँ। तर प्रदेश प्रमुख नै नभएकाले औपचारिक रुपमा बुझाउन सकिनँ।” उनले आफ्नो फेसबुक स्टाटसलाई परिस्थितिजन्य भनाइ मात्र भएको जिकिर गरे।
तर सो दिन सिंहले फेसबुकमा स्पष्ट शब्दमा, “म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु” भन्ने वाक्य लेखेका थिए। यसबारे प्रश्न गर्दा उनले जवाफ दिए, “मान्नलाई मेरो मात्र नैतिकता त होइन नि, सबैले मान्नु पर्छ।”
यद्यपि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखलाई लिखित रुपमा बुझाउनुपर्ने हुन्छ। मधेश प्रदेश प्रमुख कार्यालयका सचिव शत्रुधन यादवका अनुसार अहिलेसम्म सिंहको राजीनामा पत्र कार्यालयमा प्राप्त भएको छैन।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सिंहलाई राजीनामा गर्न निर्देशन दिएपछि उनले फेसबुकमार्फत वक्तव्य जारी गरेका थिए। तर चार दिनमै उनले ‘सिस्टम चेन्जलाई स्वागत गर्छु तर नेतामात्र बदल्ने खेलमा सहभागी छैन’ भन्दै अघिल्लो घोषणा दोहो¥याएनन्।
सिंह २५ जेठ २०८१ मा नेकपा एमालेसहित सात दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए। पछि माओवादीसहितका दल बाहिरिए पनि नेपाली कांग्रेसले उनको सरकारलाई निरन्तर समर्थन दिँदै आएको छ।




