spot_img

रौतहटमा ६४ कैदी पक्राउ, बाँकीलाई आत्मसमर्पण गर्न आग्रह

spot_img
spot_img

रौतहट,२८ भदाै  । गौर कारागारबाट भागेका कैदीमध्ये ६४ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। बाँकी फरार कैदीलाई भने चाँडै आत्मसमर्पण गर्न आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी (सीडियो) विनोदकुमार खड्काका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियानमा ४७ जना कैदी पक्राउ परेका छन्। त्यस्तै, भारतको सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएका १७ जनालाई नेपालतर्फ बुझाएको छ।

गौर कारागारमा २९१ कैदीमध्ये सुरुमा २७ मात्र भित्र रहेका थिए। हाल भने पक्राउ परेकासहित ९१ जना कैदी पुनः कारागारमा फर्किएका छन्। अझै करिब २०० कैदी फरार रहेको सीडियो खड्काले जानकारी दिएका छन्।

उनी भन्छन्, “असहज परिस्थितिको मौका छोपी कारागारबाट भागेका कैदी तुरुन्त उपस्थित भई राज्यलाई सहयोग गर्नुपर्छ। नत्र थप कानुनी कारबाहीको दायरामा पर्नेछन्।”

खड्काले स्थानीय जनतालाई पनि फरार कैदीबारे सूचना दिन आग्रह गरेका छन्। गाउँ–टोलमा लुकेर बसेकाबारे जानकारी दिन सके सुरक्षाकर्मीलाई खोजतलासमा सहज हुने उनले बताए।

हाल रौतहटको अवस्था सामान्यतर्फ उन्मुख भएको र सदरमुकामसहित चन्द्रपुर क्षेत्रमा शान्ति कायम राख्न सुरक्षाकर्मी सक्रिय रहेको जनाइएको छ। निषेधाज्ञा भने यथावत् रहेको हुँदा अत्यावश्यक कामबाहेक घरमै बस्न प्रशासनले आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय