काठमाडौं,२८ भदाै । नेपाली कांग्रेसले संसद् विघटनको कदमलाई असंवैधानिक भन्दै यसको विरोध गर्ने निर्णय गरेको छ। शुक्रबार राति बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले संसद् विघटनको कदम संविधान र सर्वोच्च अदालतको व्याख्याविपरीत भएको बताए। “यो कदमले लोकतान्त्रिक उपलब्धिलाई धरापमा पारेको छ,” विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले आन्दोलनकारी जेन–जी पुस्ताले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति र राजनीतिक दलहरूलाई जिम्मेवार ढङ्गले निष्कर्षमा पुग्न आग्रह गरेको छ। पार्टीले संसदबाटै संविधान संशोधन गरेर अन्तरिम सरकार गठन गरी नयाँ निर्वाचन घोषणाको बाटो संविधानसम्मत हुने दाबी गरेको छ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा सातै प्रदेशका सभापति, मुख्यमन्त्री र संसदीय दलका नेताहरू पनि सहभागी भएका थिए।





