काठमाडौं,२९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन गरे पनि राष्ट्रिय सभा, प्रदेशसभा र गाउँ–नगरसभा भने यथावत् रहेका छन्। तर जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण प्रदेश र स्थानीय सरकार सञ्चालनमा गम्भीर चुनौती देखिएको छ।
राष्ट्रपति कार्यालयले २७ भदौ राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको र आगामी २१ फागुनमा नयाँ निर्वाचन हुने उल्लेख गरेको छ। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रतिनिधिसभा मात्र विघटन भएको हो, अन्य निर्वाचित निकायहरू यथावत् छन्।
संविधानविद् चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन भए पनि प्रदेशसभा, स्थानीय तह र राष्ट्रिय सभाको भूमिका यथावत् रहेको बताए। उनले यो सरकार जेन–जी आन्दोलनको बलमा बनेको असामान्य परिस्थितिको उपज भएको र आगामी संविधान संशोधन वा पुनर्लेखनका लागि उच्चस्तरीय आयोग गठन आवश्यक हुने सुझाव दिएका छन्।
यद्यपि, प्रदेश र स्थानीय तह सञ्चालनमा भने ठूलो संकट देखिएको छ। आन्दोलनकारीले प्रदेश र स्थानीय कार्यालय, वडा कार्यालय, पालिका भवन, मन्त्रालय, दमकल, एम्बुलेन्स र सरकारी सवारी साधनमा आगजनी तथा क्षति पुर्याएका छन्।
नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले क्षतिको परिमाण अकल्पनीय रहेको भन्दै खर्बौं रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको अनुमान गरेका छन्। उनका अनुसार भौतिक संरचना, साधन र कागजपत्र जलेकाले स्थानीय तहलाई सेवा प्रवाह पुनः सुचारु गर्न निकै समय लाग्ने देखिएको छ।




