काठमाडौं, २९ भदौं । पदभार ग्रहण गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले आफू परिस्थिति र बाध्यताका कारण प्रधानमन्त्री बनेको र ६ महिनाभन्दा बढी पदमा नबस्ने स्पष्ट पारिन्।
आइतबार पदभार ग्रहण गरेपछि सम्बोधन गर्दै उनले भनिन्, “जुन परिस्थितिमा म आएँ, त्यो कुनै रहरको परिणाम होइन। सडकबाट, जताततैबाट मलाई जिम्मा दिन आवाज उठ्यो, म विवश भएर स्वीकार गर्नुपर्यो। मेरो टीम र म सत्ताको रसस्वादनका लागि आएका छैनौं। मेरो उमेर पनि त्यो होइन। मलाई सेवा गर्न खोजि गरियो, त्यसैले आएको हुँ।”
प्रधानमन्त्री कार्कीले आगामी ६ महिनाभित्र सबै काम पूरा गर्ने र नयाँ संसद् र मन्त्रीहरूलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सबै दल र सुरक्षा निकायको साथ आवश्यक रहेको पनि जोड दिइन्।
कार्कीले आफूलाई चुनौतिपूर्ण परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी मिलेको उल्लेख गर्दै, “एकताको भावना राखेर अघि बढ्नुपर्छ,” भनिन्।




