बीरगन्ज,२९ भदौ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै पर्सा जिल्ला प्रशासन कार्यालयले बीरगन्जका केही क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीद्वारा आज जारी सूचनाअनुसार, दुई स्थानलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार तोकिएका क्षेत्रमा बिहान ११ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। यसअनुसार पाँच जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन वा सभा गर्न अनुमति छैन। थप रूपमा, अर्को आदेश नभएसम्म हरेक रात ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागू रहनेछ।
कर्फ्यु क्षेत्र पूर्वमा बाईपास रोडसम्म, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म फैलिएको छ। कर्फ्यु समयमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा सवारी साधनलाई आवतजावतको अनुमति दिइने प्रशासनले जनाएको छ।
साथै, जिल्ला सुरक्षा समितिले ‘स्थानीय प्रशासन ऐन, २०२८’ बमोजिम घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र पर्सा कारागार कार्यालय तथा कम्पाउन्डभित्रको क्षेत्रलाई दङ्गाग्रस्त घोषित गरेको छ। प्रशासनले यी आदेश उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।




