काठमाडौ,३१ भदौ । जोखिमका कारण मनसुनको अवधिभर रातिको समयमा रोक लगाइएको बिपी राजमार्ग असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सुरक्षा समितिको बैठकले मनसुन क्रमशः कमजोर हुँदै गएको र चाडपर्वमा यात्रुहरूको सहजतालाई ध्यानमा राख्दै राजमार्ग पूर्ण रूपमा खोल्ने निर्णय गरेको हो। बैठकले स्वीकृत सडक सुरक्षा कार्य योजनाअनुसार सतर्कता अपनाउँदै सवारी सञ्चालन गर्ने जनाएको छ।
गत असारको पहिलो सातादेखि राजमार्गमा रातिको समयमा सवारी आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको थियो। बाढी–पहिरोको उच्च जोखिमका कारण धुलिखेल–नेपालथोक खण्डमा राति करिब १२ घण्टा यातायात बन्द गरिएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनका लागि रोक लगाइएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मका विभिन्न स्थान जोखिमपूर्ण भएकाले यो अवधिभर यातायात नियन्त्रणमा राखिएको थियो। यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा निकायको संयुक्त बैठकले असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग बन्द गर्ने निर्णय गरेको थियो।
गत वर्ष असोजमा आएको बाढी–पहिरोले चौकीडाँडादेखि वर्षेखोला खण्डसम्मको सडक ठूलो मात्रामा बगाएपछि अस्थायी रूपमा मात्र सञ्चालन गरिएको थियो। बाढीपहिरोले राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएपछि हाल स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रियासमेत अघि बढाइएको छ।
पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने प्रमुख मार्गका रूपमा बिपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन चल्ने गरेका छन्।





