काठमाडौँ,३१ भदाै । चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स आप्रवाह करिब ३० प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार गत साउन महिनामात्रै १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ नेपाल भित्रिएको हो। अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ३६ अर्ब ६० करोड आएको थियो।
डलरमा हिसाब गर्दा यस वर्ष २५ प्रतिशत वृद्धि भई १ अर्ब २७ करोड डलर नेपाल आएको छ। साउनमा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ४४ हजार ४६६ पुगेको छ भने पुनः स्वीकृति लिने २३ हजार ६४४ रहेका छन्। अघिल्लो वर्षको तुलनामा दुवैमा वृद्धि भएको छ।
समीक्षा अवधिमा चालु खाता ७८ अर्ब १४ करोडले बचतमा छ। त्यस्तै, शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ। साउन मसान्तसम्म नेपालसँग २८ खर्ब ६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ। यो २०.४ महिनासम्मको वस्तु आयात तथा १६.६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको दाबी छ।
साउन महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति १.६८ प्रतिशत मात्र भएको छ। गत वर्षको सोही अवधिमा यो ४.०९ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहमा २.२८% र गैर–खाद्य तथा सेवा समूहमा ३.९५% वृद्धि भएको देखिन्छ।





