बीरगन्ज, ३१ भदौ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको तोडफोड, आगजनी र लुटपाटबाट वीरगन्ज महानगरपालिकामा मात्र १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
मंगलबार बसेको नगरपरिषद बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले प्रतिवेदन प्रस्तुत गर्दै मुख्य भवनसहित वडा कार्यालय र स्वास्थ्य संस्थामा समेत ठूलो क्षति पुगेको जानकारी दिए। क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको उनले बताए।
बैठकले घटनालाई जेनजी आन्दोलनका वास्तविक प्रदर्शनकारीको गतिविधि नभई बाह्य घुसपैठमार्फत अराजक कार्य गराइएको ठहर गरेको छ। संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने निर्णय गरिएको छ।
नगरपरिषद बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गरी पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ। यसका लागि विशेष अधिवेशन बोलाउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिए।
बैठकमा मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, वडाध्यक्ष र विभागीय प्रमुखहरूले तत्काल पुनर्निर्माण सुरु गर्नुपर्नेमा जोड दिएका थिए। नगरपरिषद बैठकले असामान्य परिस्थितिका बाबजुद जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता जनाएको छ।
गत मंगलबार भएको अराजक प्रदर्शनमा महानगरपालिका कार्यालय, वडा कार्यालय, नेपाल टेलिकम, आन्तरिक राजस्व कार्यालय, प्रहरी चौकीलगायत कार्यालयमा आगजनी हुँदा कागजात, कम्प्युटर, फर्निचर जलेर नष्ट भएका थिए। त्यस्तै मेयर सिंहको निवास, पूर्वमन्त्री तथा पूर्वमुख्यमन्त्रीका घर र विभिन्न दलका पार्टी कार्यालयमा समेत आगजनी गरिएको थियो।
प्रहरीले सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीका बयानका आधारमा दोषी पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ।





