काठमाडौं,३१ भदाै । जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले नेपालका भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको भए पनि एकीकृत डेटा व्यवस्थापन केन्द्र (नासुक) सुरक्षित रहनु देशका लागि ठूलो राहत बनेको छ।
सिंहदरबारस्थित भवनमा आगो बलिरहँदा पनि डेटा सेन्टरका कर्मचारीहरू २४ घण्टा सर्भरको निगरानीमा खटिए। केन्द्रका प्रमुख मनीष भट्टराईका अनुसार, “डेटा सेन्टर नबचेको भए देश शून्यमा पुग्थ्यो, सबै सरकारी डेटा हराउँथ्यो।”
नासुकमार्फत हाल २५ सयभन्दा बढी सरकारी निकायका वेबसाइट, ईमेल, नेटवर्क र डेटाबेस सञ्चालनमा छन्। नेपाल राष्ट्र बैंकदेखि गृह मन्त्रालय, प्रहरी, कम्पनी रजिस्ट्रार र स्थानीय तहसम्मका सबै अभिलेख यहीँ सुरक्षित छन्।
तर, यातायात व्यवस्था विभागको स्थानीय सर्भर जलेर नष्ट हुँदा सवारीसाधन तथा लाइसेन्ससम्बन्धी पुराना अभिलेख हराउने जोखिम बढेको छ। यसले देशव्यापी यातायात प्रशासनिक सेवा ठप्प बनाएको छ।
सर्वोच्च अदालत र लगानी बोर्डको डिजिटल प्रणाली भने डेटा सेन्टरमै ब्याकअप भएकाले पुनःस्थापना हुने भएको छ। लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायका अनुसार, “लोकल सर्भर जले पनि डेटा सेन्टरमा सुरक्षित भएकाले कार्यालय सेवा पुनः सुरु हुन्छ।”
निजी क्षेत्रका इन्टरनेट र क्लाउड सेवामा आंशिक क्षति पुगेको छ। सीजीनेटको मुख्य डेटा सेन्टर जलेको र क्लाउड हिमालयमा रहेका केही सर्भर अवरुद्ध भएको आईस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए। तर इन्टरनेट सेवा प्रदायक र टेलिकम कर्मचारीले जोखिम मोली सेवा निरन्तर चलाए।
नेपाल टेलिकम र एनसेलका प्रमुख डेटा पूर्वाधार सुरक्षित रहेकाले मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएन। यद्यपि केही कार्यालय र टावरमा आंशिक क्षति पुगेको छ। वित्तीय प्रविधि कम्पनीहरूको ‘क्रिटिकल सिस्टम’ सुरक्षित रहेकाले बैंकिङ सेवा र डिजिटल भुक्तानी प्रणाली निरन्तर सञ्चालनमा छन्। करिब १५ सय पीओएस मेसिन जले पनि वित्तीय कारोबार ठप्प हुन पाएन।
विशेषज्ञहरूका अनुसार, यो घटनाले डिजास्टर रिकभरी र ब्याकअप प्रणालीको अपरिहार्यता देखाएको छ। संकटका बेला पनि सरकारी र वित्तीय प्रणाली नठप्पिनु कर्मचारीको साहस र बलियो पूर्वाधारकै कारण भएको प्रमुख भट्टराईले बताए।




