spot_img

बर्दिया निकुञ्जमा जीप सफारी पुनः सञ्चालन

spot_img
spot_img

बर्दिया,३१ भदाै  । वर्षायामका कारण रोकिएको बर्दिया राष्ट्रिय निकुञ्जको जीप सफारी सेवा पुनः सञ्चालनमा आएको छ। निकुञ्ज खुल्नासाथ आन्तरिक र विदेशी पर्यटक आगमन फेरि बढ्न थालेको छ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार हाल दैनिक १५–२० जना विदेशी तथा धेरै नेपाली पर्यटक निकुञ्ज भ्रमणमा आउन थालेका छन्। उनले दसैं नजिकिँदै जाँदा पर्यटकको संख्या अझै बढ्ने विश्वास व्यक्त गरे।

तर, पर्यटन व्यवसायीहरू भने अझै निराश छन्। व्यवसायी कृष्णप्रसाद भट्टराईले केही मुलुकले नेपाल भ्रमणमा अस्थायी प्रतिबन्ध लगाएकाले विदेशी आगमन कम भएको बताए। वर्षायामकै कारण पनि पर्यटक संख्या न्यून रहेको उनको भनाइ छ। तर रामजी थापाजस्ता व्यवसायीले भने बुकिङ भएका पर्यटक आइरहेका र क्रमशः पर्यटक आगमनमा सुधार देखिन थालेको बताएका छन्।

गत आर्थिक वर्ष ०८१/८२ मा २८ हजार ६८ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए, जसमा नेपाली १९ हजार १०, सार्कका १ हजार ५४० र विदेशी ७ हजार ५१८ थिए। अघिल्लो वर्षको तुलनामा करिब २ हजार बढी पर्यटकको आगमन भएको निकुञ्ज प्रशासनले जनाएको छ।

पाटे बाघको लागि विश्वमै ख्यातिप्राप्त बर्दिया निकुञ्जमा हाल १ सय २५ बाघ, १ सय २० हात्ती र ३८ गैंडा रहेको अनुमान छ। यीमध्ये केही गैंडा भारतको कतरनिया आरक्षमा पुगेका छन्। बाघ हेर्नकै लागि धेरै पर्यटक बर्दिया आउने गरेको संरक्षण अधिकृत पौडेलले बताए।

पर्यटकले जीप सफारीसँगै पैदल अवलोकन, डल्ला होमस्टे, खाता जैविक मार्ग, गोही तथा घडीयाल प्रजनन केन्द्र, थारु संग्रहालय लगायतका स्थान पनि घुम्ने गरेका छन्। बर्दियाबाहिरका ३० भन्दा बढी होटल र झण्डै २० वटा होमस्टे पनि पर्यटकको रोजाइमा छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय