जनकपुर,३१ भदाै । भदौ २४ गतेको जेन–जी आन्दोलनमा प्रमुख राजनीतिक दलका कार्यालय र नेताहरूको घरमा व्यापक तोडफोड र आगजनी भएको छ। सबैभन्दा बढी क्षति नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूले बेहोरेका छन् भने मधेसी दलका कार्यालय र घर पनि जोगिन सकेनन्।
उपेंद्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपाल सबैभन्दा बढी प्रभावित भएको छ। ललितपुर, बालकुमारीस्थित पार्टी कार्यालयमा तोडफोड गरिएको र केही समान जलाइएको छ। प्रवक्ता मनीष सुमनका अनुसार महासचिव तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको वीरगञ्जस्थित घर र दुई गाडीमा आगजनी भएको छ। प्रदेश सभा सदस्य सुरिता साह र रामअशीष यादवका घर तथा गाडीमा पनि तोडफोड र आगजनी प्रयास भएको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको सिनामंगलस्थित घरमा तोडफोड भए पनि छिमेकीहरूको प्रयासले आगलागी हुन भने पाएन। महतो घर छोडेर सुरक्षित बाहिर निस्किएका थिए।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका अनुसार मन्त्री बनेका वरिष्ठ नेता शरत्सिंह भण्डारीको भैंसीपार्टीस्थित निवासमा आगजनी र तोडफोड भएको छ। त्यस्तै पार्टीकी नेतृ निर्जला राउतको घरमा पनि तोडफोड र आगजनी भएको छ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको नवलपरासीस्थित घर र उनका छोरा हिमांशु त्रिपाठीको घरमा आगजनी भएको छ। जनता समाजवादी पार्टीका सहमहासचिव प्रदीप यादवको वीरगञ्जस्थित घर पनि क्षतिग्रस्त भएको छ।
यो आन्दोलनका क्रममा मधेसी नेताहरूका निजी निवास र पार्टी कार्यालयमा व्यापक क्षति पुगेको हुँदा राजनीतिक असुरक्षा र प्रशासनिक चुनौती अझ गहिरिएको छ।




