काठमाडौं, १ असोज । लामो समयदेखि रातिको आवागमनमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४ घण्टा सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन अन्त्यतर्फ भएकाले तथा आगामी दशैं–तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै रातिको अवरोध हटाउने निर्णय गरेको हो।
गत असारको पहिलो सातादेखि बाढी–पहिरोको उच्च जोखिमका कारण राति १२ घण्टासम्म यातायात पूर्णरूपमा रोक लगाइएको थियो। पछिल्लो पटक भदौ १६ देखि थप १५ दिनका लागि निषेध गरिएको भए पनि अब यात्रु सहजताका लागि २४ सै घण्टा सञ्चालनको व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
गत वर्ष असोजमा आएको बाढीपहिरोले राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएको थियो। काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मका सडक भाग बगाएपछि अस्थायी आवागमन व्यवस्थापन गरिएको थियो।
बिपी राजमार्ग (१६० किमी) पूर्वी नेपाललाई राजधानीसँग जोड्ने छोटो दूरीको मार्ग हो, जसबाट दैनिक हजारौँ सवारीसाधन चल्ने गर्छन्। हाल क्षतिग्रस्त सडक स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अगाडि बढाइएको प्रशासनको भनाइ छ।



