धनुषा ,०१ असार । ईलाका प्रहरी कार्यालय ढल्केवरले ठूलो परिमाणको लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूले गाँजा ओसारपसार गर्न प्रयोग गरेको तरकारी बोक्ने पिकअप गाडी पनि बरामद गरिएको छ।
प्रहरी निरीक्षक जाटाशंकर यादवको नेतृत्वमा खटिएको टोलीले बुधबार बिहान गणेशमान चारनाथ नगरपालिका–४ बिरेन्द्रबजारमा गाडी फेला पारी चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, धरानबाट ल्याइएको गाँजा पिकअप गाडीमा लोड गरी माथिबाट बन्दाकोबी राखेर ढाकिएको थियो।
यो गाँजा धनुषा बिदेह नगरपालिका–३ जोगियारास्थित भगवती फिक्स ईट्टा भट्टामा अनलोड गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ। सोही दिन दिउँसो ४ बजे चेकजाँचको क्रममा तयारी ईट्टाको चाङबीच त्रिपालले छोपेर राखिएको १९ पोका करिब ४७५ किलो गाँजा बरामद गरिएको थियो।
पक्राउ परेका चालक धादिङ बेनिघाट रोलाङ गाउँपालिका–१ का २४ वर्षीय बिराज गुम्बा र सहचालक बाँके कोहलपुर पार्वतीपुरका १८ वर्षीय रोहित चमार हुन्। प्रहरीले ना।३–०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडीसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको छ।





