काठमाडौं,०२ असोज । यस वर्षको दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ। तर, यात्रु अभाव हुने अवस्था नबन्ने यातायात व्यवसायीहरूले दाबी गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार पछिल्ला दिनमा मात्रै गोंगबुस्थित नयाँ बसपार्कबाट ५० हजारभन्दा बढी यात्रु उपत्यका बाहिरिइसकेका छन्। उनका अनुसार यात्रुको ठूलो चाप पहिले नै घटेकाले छुट्टै काउन्टर खोली अग्रिम टिकट बुकिङ गर्नुपर्ने अवस्था छैन।
मंगलबार यातायात व्यवस्था विभागमा भएको छलफलमा अग्रिम टिकटभन्दा सडक सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्नेमा समस्या देखिन थालेको र वर्षाका कारण कतिपय सडकमा गाडी बीचमै फस्ने अवस्था बनेको बताए।
दसैंका बेला यात्रुको चाप तीव्र हुने भएकाले विभागले घटस्थापनादेखि असोज २२ सम्म सबै गाडीलाई देशभर जुनसुकै रुटमा चल्न दिने निर्णय गरेको छ। यात्रु ठगिन नदिन र टिकट पाएर पनि गाडी नपाए तत्काल गुनासो गर्न सक्ने गरी टिकट काउन्टरमा ‘यात्रु सहायता कक्ष’ स्थापना गर्ने तयारी गरिएको छ।
सडक विभागका महानिर्देशक विजय जैसीले दसैं अवधिमा सडक पूर्वाधारमा समस्या नआओस् भन्ने तयारी गरिएको जनाए।




