spot_img

ओलीको अस्थायी बसोबास खोजी, केही दिनमै सार्वजनिक हुने तयारी

spot_img
spot_img

काठमाडाैं,०२ असाेज  ।  जेनजी आन्दोलनका क्रममा बालकोटस्थित निजी निवास ध्वस्त भएपछि निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि अस्थायी बसोबासको खोजी भइरहेको छ। नयाँ बासस्थानको व्यवस्था भएपछि उनी केही दिनमै सार्वजनिक हुने तयारीमा रहेको एमाले निकट स्रोतले जनाएको छ।

जेनजी आन्दोलनका बेला प्रदर्शनकारीले एमालेलाई मुख्य निशाना बनाएका थिए। पार्टीका कार्यालयदेखि दर्जनौं नेताका घरसमेत तोडफोड तथा आगजनी भएका थिए। सो क्रममा ओलीको बालकोटस्थित निजी निवास पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।

स्रोतका अनुसार, ओलीले नयाँ बासस्थान सुनिश्चित गरेर ३–४ दिनभित्र बाहिर निस्कने योजना बनाएका छन्। “परिस्थितिमा कुनै आकस्मिक फेरबदल नभए ३–४ दिनमा उहाँ सार्वजनिक हुनुहुन्छ,” ओली निकट एक नेताले बताए।

ओली बाहिर नआएसम्म एमालेको औपचारिक बैठक नभएको र उनी अध्यक्ष पद छोड्ने मनस्थितिमा पनि नरहेको स्रोतको भनाइ छ। “उहाँ बाहिर आएपछि अध्यक्षकै भूमिकामा पूर्ववत सक्रिय हुनुभयो, नेतृत्व परिवर्तनको सम्भावना अहिले छैन,” ती नेताले भने।

हाल ओली नियमित रूपमा पार्टीका शीर्ष नेताहरूसँग सम्पर्कमा छन्। उनको निर्देशनअनुसार एमालेले संविधान दिवसका अवसरमा च्यासलस्थित जलेको केन्द्रीय कार्यालयमै विशेष कार्यक्रम गर्ने तयारी गरेको छ। कार्यक्रममा प्रमुख नेताहरूको उपस्थिति रहनेछ।

जेनजी आन्दोलनले मुलुकमा राजनीतिक अस्थिरता ल्याएपछि एमालेभित्र पुनर्गठनबारे बहस बढेको छ। तर, शीर्ष नेतृत्वले भने यसबारे हालसम्म कुनै स्पष्ट संकेत दिएको छैन।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय