रौतहट,०२ असोज। जेन–जी आन्दोलनको क्रममा मधेश प्रदेशका विभिन्न जेलबाट ५० भारतीय नागरिक फरार भएका छन्। उनीहरू हत्या, हातहतियार खरखजना, डकैती, लागूऔषध, अपहरण, जबर्जस्ती करणी र खोटा मुद्दामा सजाय पाएका थिए।
रौतहटको गौर कारागारबाट १७ जना कैदी फरार भएका थिए। भारतीय सीमासुरक्षा बलले ५ जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीले बुझाएको छ। हाल १२ जना अझै फरार छन्। गौर कारागारमा कुल २९१ कैदीबन्दीमध्ये २६४ जना फरार भएका थिए। प्रहरीको प्रयासमा अहिलेसम्म ८६ जना फेला परेका छन् भने १७८ जनाको खोजी जारी छ।
महोत्तरी कारागारबाट ३९ जना भारतीय कैदी फरार भए, जसमध्ये ४ जनालाई नियन्त्रणमा लिइएको छ। बाँकी ३५ जना अझै फरार रहेको महोत्तरी कारागार प्रशासनले जनाएको छ। यस कारागारमा ५७६ कैदी थिए, र आन्दोलनको आडमा ठूलो संख्यामा फरार भएको हो।
सप्तरी कारागारबाट ५ जना भारतीय कैदी फरार भए, तीमध्ये २ जना पक्राउ परेका छन्। सप्तरी कारागारमा ३९८ कैदीमध्ये २०५ जना फरार भएको तथ्यांक प्राप्त भएको छ। स्थानीय प्रहरी अझै फरार कैदीको खोजी गरिरहेको छ।
गौर कारागार प्रशासनले फरार कैदी आफैं सम्पर्कमा नआए ५ वर्ष थप कैद सजाय हुने जानकारी सार्वजनिक गरेको छ। जिल्ला प्रहरीले भने, “सम्पर्कमा नआएका फरार कैदीले नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालयमा सम्पर्क गर्नुपर्छ। नआए थप सजाय हुनेछ।”
यसैबीच चैत ३ गते परोहा नगरपालिका–९, खापचोकमा गोली प्रकरणमा पक्राउ परेका तीन भारतीय कैदी—मुनिफकुमार यादव, राजकुमार पासवान र चन्द्रभान सिंह—कारागार फरारमध्येका थिए। उनीहरू २ थान हतियार र गोलीसहित पक्राउ परेका हुन्।





