spot_img

बीरगन्जमा हैजा नियन्त्रणका लागि SODCC को जनचेतना अभियान तीव्र

spot_img
spot_img

बीरगन्ज,०२ असोज । हालै पर्साको बीरगन्ज क्षेत्रमा फैलिएको हैजाको संक्रमण नियन्त्रण गर्न सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा (SODCC) ले व्यापक जनचेतना अभियान सञ्चालन गरेको छ। युनिसेफको आर्थिक सहयोगमा र बीरगन्ज महानगरपालिका तथा नेपाल रेडक्रस सोसाइटी पर्साको समन्वयमा समिति नगरका सबै वडामा पुगेर चेतनामूलक कार्यक्रम गर्दैछ।

SODCC ले होर्डिङ बोर्डसहितको क्याम्पिङमार्फत हैजाबारे जानकारी फैलाउने, घर–घरमा पुगेर पिउने पानीको नमूना संकलन गरी परीक्षण गर्ने र स्थानीयलाई सरसफाइसम्बन्धी प्रशिक्षण दिने कार्यलाई तीव्र बनाएको छ।

समितिका अध्यक्ष इब्राहीम देवानले भने, “हैजा नियन्त्रणका लागि सबै निकाय जिम्मेवार बन्न जरुरी छ। हामी समुदायमै पुगेर सूचना दिने, परीक्षण गर्ने र जनतालाई सचेत गराउने काममा लागिरहेका छौं। यो अभियान सफल बनाउन जनताको सहकार्य अनिवार्य छ।”

स्थानीयवासी र स्वास्थ्यकर्मीले पनि अभियानको खुलेर प्रशंसा गरेका छन्। बीरगन्ज–१३ का अनिल कुशवाहाले भने, “SODCC को टोलीले हाम्रो वडामा आएर पानीको नमूना परीक्षण गरे, सरसफाइबारे आवश्यक सुझाव दिए। यसले हैजा नियन्त्रणमा सहयोग गरेको छ।”

स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहाले भने, “सामुदायिक तहमा पुगेर जनचेतना फैलाउनु हैजाजस्ता रोग रोकथाममा सबैभन्दा प्रभावकारी उपाय हो। SODCC को पहल अत्यन्तै उपयोगी र समय सान्दर्भिक छ।” युनिसेफ र नेपाल रेडक्रस सोसाइटी पर्साले SODCC लाई प्राविधिक र सामग्री सहयोग पुर्‍याउँदै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

यो अभियानले बीरगन्जमा हैजा नियन्त्रण मात्र होइन, दीर्घकालीन रूपमा सरसफाइ र सुरक्षित खानेपानीप्रति जनचेतना बढाउने लक्ष्य राखेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय