विराटनगर,०२ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हालसालै भएको जेनजी आन्दोलनको मूल भावना अपहरण र जालझेलमा परेको बताएका छन् । उनका अनुसार आन्दोलनले उठाएको भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको मुद्दा प्रणालीगत सुधारतर्फ नगई केवल व्यक्तिको परिवर्तनमा सीमित भएपछि अपेक्षित परिणाम प्राप्त हुन सकेन ।
लिङ्देनले हालको अन्तरिम सरकारप्रति सावधानीपूर्वक निगरानी गरिरहेको बताए । उनले भने, “यत्रो धनजनको क्षति भयो, तर भ्रष्टाचारको जड मानिने वर्तमान प्रणालीलाई स्पर्श नै गरिएन । आन्दोलनको सारभूत मुद्दा बेपत्ता पारिएको छ ।”
राप्रपाले संसद् र सरकारको औचित्य नरहेको भन्दै आफ्ना प्रदेश सांसदलाई राजीनामा दिन निर्देशन गरिसकेको छ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिइसकेका छन् भने अन्य प्रदेशमा पनि प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए ।
उनका अनुसार अब संसद् पुनर्स्थापनाको माग गर्ने प्रश्न नै उठ्दैन । “यो संसद्ले समस्याको समाधान दिन सकेन, त्यसैले हामी पुनर्स्थापनाको पक्षमा छैनौँ,” लिङ्देनले भने ।
आगामी निर्वाचनबारे बोल्दै उनले राप्रपा प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनमा सहभागी हुने तर यही प्रणालीभित्र मात्रै समाधान खोज्नु असम्भव हुने बताए । उनले प्रदेशको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र गैरदलीय स्थानीय तहजस्ता विषय अबको संसद्ले सम्बोधन गर्न नसक्ने जिकिर गरे ।
लिङ्देनले देशलाई दीर्घकालीन निकास दिन सबै दलबीच सर्वपक्षीय संवाद वा गोलमेच सम्मेलनको आवश्यकता रहेको बताए ।




