काठमाडौ,०३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा शुभकामना दिँदै नेपालको संविधानले सबै नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन्।
उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतालाई सम्मान गर्दै सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको स्पष्ट पारे।
संविधानको कार्यान्वयनमार्फत मात्र दिगो शान्ति, सुशासन र समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै उनले सहिदप्रति श्रद्धाञ्जली र लोकतन्त्रको यात्रामा योगदान दिने सबैप्रति कृतज्ञता व्यक्त गरे।
राष्ट्रपतिले संविधानले हिमाल, पहाड र तराईलाई समान संरक्षण प्रदान गरेको स्मरण गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य स्पष्ट भएको बताए।
देशलाई समावेशी, समानतामूलक र समृद्ध भविष्यतर्फ अघि बढाउन सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र जनतालाई साझा प्रतिबद्धता जनाउन उनले आह्वान गरे।




