काठमाडौं,०३ असाेज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र राष्ट्रपति संस्था जोगाउन आफूले निर्णायक भूमिका खेलेको दाबी गरेका छन्।
संविधान दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले ‘जेनजी’ आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संविधान खारेज गर्ने र राष्ट्रपति पद हटाउने प्रयास भएको बताएका हुन्।
प्रचण्डका अनुसार, त्यतिबेला गम्भीर सङ्कट टार्न उनले राष्ट्रपति, प्रधान सेनापति र विभिन्न राजनीतिक दलका नेताहरूसँग रातभर छलफल गरेका थिए। “संविधान खारेज गर्ने र राष्ट्रपति हटाउने कसरत भएको थियो। अन्ततः संविधान जोगाउनुपर्छ भनेर मैले सहजीकरण गरें,” उनले भने।
उनले देशलाई संकटबाट जोगाउन प्रधान सेनापतिको भूमिकालाई पनि प्रशंसा गर्दै धन्यवाद दिएका छन्। साथै, प्रचण्डले ‘जेनजी’ आन्दोलनका क्रममा माओवादी पार्टी कार्यालयमा भएको आगजनी र तोडफोडलाई ‘घुसपैठ’को परिणाम भएको दाबी गर्दै आन्दोलनकारीलाई त्यस्तो गतिविधि नगर्न आफूले बारम्बार आग्रह गरेको बताए।
कार्यक्रममा प्रचण्डले हालको संविधानलाई आवश्यक संशोधनसहित परिष्कृत गर्नुपर्नेमा पनि जोड दिए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने आफ्नो पुरानो प्रस्तावलाई दोहोर्याउँदै देशको राजनीतिक प्रणालीमा अझ सुधार आवश्यक रहेको बताएका छन्।



